थाहा दैनिक न्युज डेक्स,काठमाडौं
२०८२ साउन ०२ गते शुक्रबार
२ महिना अघि मात्रै गएका थिए, परिवारको सपना बोकेर; मृ’त्यु भयो एक्लोपनमा, परदेशी अस्पतालको शैयामा इलामका ३५ वर्षीय लेखनाथ खतिवडाको दुबईमै मृ’त्यु भएको छ। दुई महिना अघि मात्रै वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका खतिवडा असार ८ गतेदेखि सिकिस्त बिरामी थिए। उपचारकै क्रममा एकान्त बेडमा, परिवारबाट टाढै उनको जीवनको अन्त्य भएको हो। घरमा काम थिएन, देशले कुनै विकल्प देखाउन सकेन। छोराछोरीको भविष्य सुरक्षित गर्ने र बिरामी आमाबाबुको औषधि जुटाउने अभिलाषा बोकेर उनले परदेशको बाटो रोजेका थिए।
तर मन थाम्दै पुगेको त्यो सपनाको यात्रा असहाय बिरामीपनमा परिणत भयो।अन्तिम दिनसम्म पनि उनले आफ्ना परिवारको अनुहार देख्न पाएनन् – न छोराछोरी, न आमा-बुबा विदेशी भूमि, अपरिचित अस्पताल, नचिनेका अनुहारहरू र एकान्त मृत्यु – यो लेखनाथ मात्र होइन, देशमा अवसर नपाएर परदेश जान बाध्य हजारौं युवाको साझा पीडा हो।
जब देशमा रोजगारी र सम्भावनाको अभाव हुन्छ, तब हजारौं युवाका लागि परदेश नै अन्तिम विकल्प बन्दछ। तर त्यसबाट फर्किने ग्यारेन्टी न जीवनको हुन्छ, न मृत्युको। लेखनाथको मृत्युले फेरि एकपटक राज्यको मौनता, बेरोजगारीको यथार्थ र वैदेशिक रोजगारीको कठोरता उजागर गरिदिएको छ।