थाहा नगरपालिकाकी चेली राम माया थापा इङ्ल्याण्ड राज्य परिषद्को पहिलो महिला अध्यक्षमा १०७९ मतसहित निर्वाचित

२०८२ साउन ११ गते आइतबार   

थाहा दैनिक न्युज डेक्स,काठमाडौं

इङ्ल्याण्ड राज्य परिषद्को आगामी कार्यकालका लागि अध्यक्ष पदमा समाजसेवी राम माया थापा विजयी भएकी छन्। उनले कुल १०७९ मत ल्याउँदै प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएकी हुन्। नेपालको मकवानपुर जिल्लाको थाहा नगरपालिकाकी चेली थापाले निर्वाचनपश्चात सबै समुदायप्रति आभार व्यक्त गर्दै, “यो मेरो मात्र होइन, हामी सबैको साझा सफलता हो,” भनेर आफ्नो समर्पण र संकल्प दोहोऱ्याएकी छन्। थापाले निर्वाचनअघि आफ्नो उम्मेदवारी घोषणा गर्दै इङ्ल्याण्ड राज्यमा रहेका नेपाली समुदायको समुन्नत, समावेशी र उत्तरदायी नेतृत्व आवश्यक रहेको स्पष्ट संकेत दिएकी थिइन्। झन्डै दुई दशकदेखि बेलायतमा बसोबास गर्दै आएकी थापा, यही अवधिभर सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएकी छन्। उनले नेपाली सामाजिक संघ–संस्थाहरूमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, मिडिया सचिव तथा प्रवक्ताको भूमिकामा रहेर अनुभव संकलन गरेकी छन्। हाल (२०२३–२०२५) को कार्यकालमा उनी इङ्ल्याण्ड राज्य परिषद्को कोषाध्यक्षका रूपमा क्रियाशील थिइन्, जहाँ आर्थिक अनुशासन, पारदर्शिता र संस्थागत विकासमा उनको योगदान उल्लेखनीय रह्यो।

विपद् व्यवस्थापनदेखि महिला सशक्तिकरण, युवापुस्ताको क्षमता विकास, आपत्कालीन राहत अभियान, तथा नेपालप्रतिको भावनात्मक सम्बन्ध मजबुत बनाउन उनले नेतृत्वदायी भूमिका खेलेकी छन्। २०८० मा आएको जाजरकोटको भूकम्पमा पनि बेलायतबाट राहत संकलन गरी नेपाल पठाउने अभियानमा पनि उनी अग्रणी थिइन्। साथै, व्यवसायिक क्षेत्रमा पनि उनी property business मा सफलतापूर्वक सक्रिय रहँदै उद्यमशीलता र सामाजिक सेवाबीच सन्तुलन कायम गरेकी छन्। थापाले निर्वाचनपश्चात धन्यवाद दिँदै भनिन्, “म पारदर्शी, उत्तरदायी र सहभागी नेतृत्वमार्फत इङ्ल्याण्ड राज्य परिषद्लाई आदर्श सामाजिक संस्था बनाउने दृढ संकल्पका साथ अघि बढ्नेछु।” उनी भएकी हुन्, जसले आगामी दिनमा नेतृत्वमा महिला सहभागिताको ढोका अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ।