२०८२ भदौ २९ गते आइतबार,थाहा दैनिक
हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, कंकालहरु पूर्णरूपमा जलेको अवस्थामा फेला परेका छन्, जसका कारण तत्काल पहिचान गर्न सकिने अवस्था छैन। “डीएनए परीक्षणपछि मात्र ती शवहरु कसका हुन् भन्ने थाहा हुने छ,” अधिकारीले बताए।भदौ २३ गते जेनजी आन्दोलनको क्रममा देशका विभिन्न स्थानमा उग्र प्रदर्शन, प्रहरीको गोली प्रहार र हिंसा भएका थिए। त्यस दिन मात्रै काठमाडौंसहित विभिन्न जिल्लामा गरी २१ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो। प्रहरी हस्तक्षेपपछि आन्दोलन झन् हिंसात्मक बन्दै गएको थियो। भोलिपल्ट, भदौ २४ गते देशभर तोडफोड र आगजनीका घटना बढे। अहिले सम्मको तथ्याङ्क अनुसार, आन्दोलनसँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ५८ पुगेको बताइएको छ। चुच्चेपाटीमा फेला परेका कंकालहरु आन्दोलनकै क्रममा बेपत्ता भएका नागरिकका हुनसक्ने अनुमान गरिएपनि, अनुसन्धानका लागि अझै समय लाग्ने प्रहरीले जनाएको छ।