” पर्वतमा पहिरोको विपत्ति: श्रीमानको ज्यान गयो, श्रीमती बेपत्ता”

आइतबार बिहान ४:१५ बजे परेको भारी वर्षासँगै पर्वतको मोदी गाउँपालिका–३, लाङदीमा खसेको पहिरोले छविलाल विकको घर पूर्ण रूपमा पुरिएको छ। ७६ वर्षीय छविलाल विकको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने, उनकी ७६ वर्षकै पत्नी विष्णुमती विक बेपत्ता छन्। घटनाका बेला घरमै रहेकी छविलालकी बुहारी ३२ वर्षीया पवित्रा विक भने भागेर ज्यान जोगाउन सफल भएकी छिन्। स्थानीयवासी र सुरक्षाकर्मी उद्धारमा खटिए पनि लगातारको वर्षा, बाढी र सडक अवरोधले समयमै उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ। उक्त स्थान पहिल्यैदेखि जोखिमयुक्त क्षेत्रमा सूचीकृत थियो। अघिल्लो वर्ष खसेको पहिरोले पनि छविलालको अर्काे घरमा क्षति पुर्‍याएको थियो। पालिकाले सतर्क रहन आग्रह गरे पनि यो वर्षको विपत्तिले परिवारलाई गहिरो पीडा दिएको छ।