२०८२ साउन २३ गते विहिवार,थाहा दैनिक
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा मकवानपुर जिल्लाको थाहा नगरपालिका शिखरकोटमा तीनदिने सांस्कृतिक तथा धार्मिक कार्यक्रम हुने भएको छ।
“श्रीकृष्णजन्माष्टमी जात्रा, प्रथम थाहा फुड फेस्टिवल तथा ऐतिहासिक घैंटो फुटाउने प्रतियोगिता – २०८२” शीर्षकमा आयोजना हुने उक्त कार्यक्रम श्रावण ३० गतेदेखि भाद्र १ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत श्रावण ३० गते, शुक्रबार “सडकमा खाऔं, सडकमा रमाऔं” नारासहित थाहा फुड फेस्टिवल सञ्चालन गरिनेछ।
कार्यक्रममा तीन सयभन्दा बढी परिकार स्टलहरू, स्थानिय उत्पादनको प्रदर्शनी र प्रतिमा अर्याल, हिरा राई, बिश्व बुढा, सरोज लामिछाने लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन्। श्रावण ३१ गते, शनिबारको दिन श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रमको रूपमा मनाइनेछ। सो दिन सांस्कृतिक झाँकी प्रदर्शनी सहित लिटिल राधा–कृष्ण प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी हुने सबै बालबालिकालाई गिफ्ट ह्याम्पर र उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजकहरूले बताएका छन्। यसैगरी, भाद्र १ गते, आइतबार, कार्यक्रमको अन्तिम दिन ऐतिहासिक घैंटो फुटाउने प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा उत्कृष्ट टोलीलाई रु. ३०,००० नगद पुरस्कार, दोस्रो हुनेलाई रु. २०,००० र तेस्रो हुनेलाई रु. १०,००० पुरस्कार प्रदान गरिनेछ। सो अवसरमा विश्व नेपाली,धिरज राई, विश्व दोङ, रमेशराज भट्टराई लगायत चर्चित कलाकारहरूको विशेष प्रस्तुति पनि रहने छ। कार्यक्रमको आयोजना थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, गोपाली समाज, शिखर क्लब, नवजागृत पुस्तकालय, दामन चेली समाज, फरक सोच, थाहा नगर ब्याडमिन्टन संघ र लायन्स क्लब अफ थाहा पिसको संयुक्त पहलमा गरिएको हो। यस कार्यक्रमका मिडिया पार्टनरमा थाहापाटी, Thaha Times, Palika Press र हाम्रो थाहा रहेका छन्। आयोजकहरूले कार्यक्रममा सबैको उत्साहजनक सहभागिताको अपेक्षा गर्दै सबैलाई साँस्कृतिक एकता, धार्मिक आस्था र स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।