२०८२ साउन ८ गते विहिवार,थाहा दैनिक
तीन साताअघि भारतको मुम्बईबाट ‘कम्प्युटर क्लास’ भनेर निस्केका सुर्खेतकी १६ वर्षीया मेनुका र १३ वर्षीया सिर्जना मृत अवस्थामा फेला परेका छन्। उनीहरूको शव आज मध्यमपुर ठिमी नगरपालिका–८, बोडेमा भाडामा लिइएको कोठामा झुन्डिएको अवस्थामा भेटिएको हो। परिवारका अनुसार, उनीहरूले अन्तिमपटक म्यासेन्जरमार्फत सम्पर्क गरेका थिए। सन्देशमा भनिएको थियो, “ममी, हामी बैंगलोर गयौं, पैसा कमाएर तपाईंलाई भेट्छौं। त्यो भन्दा अघि भेट्न सक्दैनौं।”
सो सन्देशपछि परिवारले प्रहरीमार्फत खोजी सुरु गरेका थिए। मोबाइल लोकेसनअनुसार उनीहरूको ट्र्याक भारतदेखि नेपालसम्म देखिएको थियो। पछिल्लो समय काठमाडौंमा होटलमा काम गरिरहेका भन्ने सुन्ने क्रम बढे पनि प्रहरीको भनाइमा त्यसको पुष्टि गर्ने प्रमाण फेला परेको छैन। आज बिहान बोडेस्थित उनीहरूले भाडामा लिएको कोठाको प्यासेजमा दुबै जनाको शव एउटै डोरीमा फलामको डन्डीमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शवलाई हालसम्म उठाइएको छैन। प्रहरीका अनुसार, अनुसन्धान प्रक्रिया स्थगित गरिएको छ, किनभने शवको मुचुल्का तथा पोष्टमार्टमका लागि मृतकका बाबुआमाको उपस्थिती आवश्यक रहेको छ। उनीहरू आजै दिल्लीबाट काठमाडौं आइपुग्ने भएका छन्। त्यसपछि मात्र अनुसन्धान अगाडि बढ्ने जनाइएको छ।
तीन दिनअघि एक अन्तर्वार्तामा बाबुआमाले भनेका थिए, “हाम्रो छोरीहरू आफै गएजस्तो देखिए पनि, कसैले बोलाएर लगेको हो। दिदीलाई हिन्दी आउँदैन, बहिनी त नेपाल नै चिन्दिन।” दुबै बहिनीले अन्तिम समय सामाजिक सञ्जाल ‘टिकटक’ मा “मरेर गए नि नतोडिने बन्धन माया हो…” भन्ने गीत राखेर भिडियो बनाएका थिए। त्यसपछि बिहानै उनीहरू मृत अवस्थामा भेटिए। प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ र आत्महत्या वा अन्य कोणबाट अनुसन्धानको सम्भावनामा प्रारम्भिक तयारी गरिरहेको जनाएको छ।