२०८२ साउन १९ गते सोमबार ,थाहा दैनिक
साउन लागेपछि केही त फरक महसुस हुन्छ। वर्षाका रसिला थोपाहरू, रूखहरूमा चिप्लिएको हरियाली, र चिसो बतासले मानौं कुनै पुरानो सम्झना जगाइरहेको हुन्छ शायद शिवको। हरेक सोमबार बिहान सूर्यमुखी झैं खुलेको मन लिएर देवालय जानेहरूको लर्को लाग्छ। सबैको हातमा अक्षता, बेलपत्र, दुध, दही, घिउ, मह, गंगाजल… र मनमा एकनिष्ठ भावना “हे शिव, तपाईँ प्रसन्न हुनुहोस्।” साउन महिना महादेवलाई अर्पण गरिएको प्रेमको समय हो। यो महिना उनीसँग संवाद गर्ने, आफ्नो दु:ख सुनाउने, र आशिर्वाद माग्ने अवसर हो। शास्त्र भन्छन्—साउन सोमबार व्रत बस्नाले शरीर शुद्ध हुन्छ, मन स्थिर बन्छ, र आत्मा उज्यालो। उहाँलाई समर्पित मन्त्र “ॐ नमः शिवाय” केवल ध्वनि होइन, त्यो आत्माको कम्पन हो। जब यस मन्त्रको जप गरिन्छ, तब त्यो शब्द ब्रह्ममा विलीन हुन्छ, फेरि ब्रह्मबाटै निस्कन्छ। यही मन्त्रबाट शिवत्व प्राप्त हुन्छ। एक बूढी आमाको कथा प्रख्यात छ उहाँ हरेक साउनमा व्रत बस्नुहुन्थ्यो। नमाजस्तै अनुशासित दिनचर्या, बिहानको स्नान, शिवलिंगमा जल अर्पण, बेलपत्र चढाउँदै “ॐ नमः शिवाय”को गुन्जन। के माग्नुहुन्थ्यो त? केही होइन। बस्, भगवान् शिवसँग नजिक रहन पाउने सौभाग्य! शिवलाई प्रसन्न पार्न ठूलो चिज चाहिँदैन। मन सफा, श्रद्धा गहिरो र कर्म शुद्ध यी नै शिवको पूजा हुन्।
शिव पाँचमुखी हुनुहुन्छ हरेक मुखबाट एउटा सन्देश छ:
ईशान: शुद्ध बुद्धि राख।
तत्पुरुष: तपस्वी बन
अघोर: भय नमान
वामदेव: भित्रको सौन्दर्य देख
सद्योजात: कर्ममा लीन हो।
शिवको कृपा मिल्यो भने लोभ, मोह, क्रोध स्वत: हराउँछ। जीवन शान्त, सरल र सुखमय हुन्छ। साउनको सोमबारले यही सम्झाउँछ परम सत्यसम्म पुग्ने बाटो भक्ति हो।